Showing posts with label a. Show all posts
Showing posts with label a. Show all posts

Thursday, April 19, 2012

समय मण्डल (Time Zone) सम्बन्धि सिद्धान्त

समय मण्डल (Time Zone) भन्नाले पृथ्वीको यस्तो क्षेत्रलाई जनाउँछ जहाँ एउटै प्रामाणिक  समयको प्रयोग हुन्छ । समय मण्डल निर्धारण गर्ने सामान्य ज्यामितीय नियम पृथ्वीको देशान्तरको प्रत्येक १५० (१ घंटा) बराबर एक क्षेत्र निर्धारण गर्नु पर्छ भन्ने हो । तर अन्य भौगोलिक र राजनैतिक अभ्यासहरुको प्रभाव यस नियममा परेको देखिन्छ ।
समय मण्डलको निर्धारण हुनु भन्दा अघि स्थानीय सौर समयको प्रयोग हुँदै आएको थियो । स्थानीय सौर समय नै स्पष्ट समय हो । धुपघडीले दिने समय स्थानीय सौर समय हो । यान्त्रीक घडीले दिने समय मध्यम समय हो ।
Greenwitch Mean Time (GMT) को शुरुवात सन् १६७५ मा ब्रिटेनको Royal Observatory ले गरेको हो । जसको उद्देश्य देशान्तरको निर्धारण गर्नु थियो । पहिलो Time Zone को निर्धारण व्रिटेनकै रेलवे कम्पनीहरुले 1 December 1947 मा बोक्न मिल्ने Chronometer को सहायताले गरेका थिए । यसलाई नै केही समय पश्चात रेलवे समय भनिन थाल्यो । सन् १८५५ सम्ममा ब्रिटेनका ९८% घडीमा  GMT को प्रयोग हुन थाल्यो । सन् १८६८ नोभेम्बर २ देखि ब्रिटिस कोलोनीका रुपमा न्यूजिल्याण्डमा पनि स्ट्याण्डर्ड समयको प्रयोग हुन थाल्यो । जुन ग्रीनवीचबाट १७२० ३०’ पूर्वी देशान्तर अर्थात ११ घं.३० मी अघिको समय थियो । ब्रिटेन पछि संभवत स्ट्याण्डर्ड समयको प्रयोग गर्ने मुलुक यहि हो । जसलाई न्यूजिल्याण्ड मीन टाइम भनिन थाल्यो ।
सन् १८७६ मा Sandford Fleming ले संसारभरि २४ घंटे घडीबाट एउटै समय कायम गर्नु पर्ने प्रस्ताव अघि सारेका थिए । उनको प्रस्ताव ग्रीनवीचको ठीक विपरित अर्थात् अन्तराष्ट्रिय मितिरेखा (International Date Line) बाट घडीको शुरुवात गर्नुपर्छ भन्ने थियो । उनले यसको वकालत जारी राखेका थिए तर सन् १८८४ को अक्टोबरमा भएको International Meridian Conference ले उक्त प्रस्तावलाई अस्विकार गर्यो र ग्रीनवीचलाई नै आधार मान्ने भयो ।
अमेरिकाको समय प्रणाली १९ औं शताव्दीको मध्य सम्म पनि असजिलो थियो । रेलरोडहरुमा आफ्नै किसिमका समय प्रयोग हुन्थे । रेल परिर्वतन गर्दै लामो दुरीको यात्रा गर्दा आफ्नो रेल कहिले आईपुग्ने हो भन्ने कुराले यात्रुहरु भ्रममा पर्थे । 19 March 1918 का दिन अमेरिकी कंग्रेसमा Standard Time विधेयक पारित भई कानुन बनेपछि त्यहा रहेको समय सम्बन्धी भ्रम विस्तारै हट्दै गयो ।
सन् १९२९ बाट प्रमुख राष्ट्रहरुले घंटाकै आधारमा समय मण्डल निर्धारण गर्न थाले । हाल सबै देशहरुले प्रामाणिक समय मण्डलको प्रयोग गर्दछन् । तर समय मण्डलको निर्धारणका लागि यसको आधारभुत परिभाषालाई पछ्याएको भने देखिदैंन । न्यूफाउण्डल्याण्ड, भारत, इरान, अफगानिस्तान, भेनेजुयला, बर्मा, मौरिसस र अष्ट्रलेलिया(केही क्षेत्रमा) मा आधा घण्टा (साढे) को समय मण्डल प्रचलनमा रहेको छ । नेपाल र केही क्षेत्रहरु जस्तै Chatham Island ले चौथाई फरक प्रयोग गरेका छन् । केही राष्ट्र (प्रमुख रुपमा चिन) हरुले क्षेत्रफल समय मण्डलबाट १५०  देशान्तर भन्दा बढी भए पनि देशभर एउटै समय लागु गरेका छन् ।
कम्प्युटर र इन्टरनेटमा समय मण्डलको प्रयोग
इन्टरनेटमा Coordinated Universal Time (UTC)  को प्रयोग गरिन्छ ।  जस्तै च्याटिङ्ग, न्यूज सोज आदिमा । इमेलमा प्रेषकको Time Zone प्रेषित समय गणनाकालागि प्रयोग हुन्छ । तर प्राप्तकर्ताको इमेल क्लाइटमा आफ्नो सेटिङ्ग अनुसार प्रेषित समय पुनः गणना हुन्छ ।
मुख्य अपरेटिङ्ग सिस्टमहरु Windows, Unix र Unix का अन्य उत्पादनमा समेत Time Zone को सेटिङ्ग राखिएको हुन्छ । Unix  र Linux मा zoneinfo नामक डाटाबेसमा समय सम्बन्धी जानकारीहरु संचित भएका हुन्छन् । Windows मा Run मा गई timedate.cpl टाईप गरेपछि Time Zone ट्यावबाट विश्वका प्रमुख शहरहरुको विवरण प्राप्त गर्न र कम्प्युटरको सेटिङ्ग परिवर्तन गर्न सकिन्छ ।
(यो लेख २०६८ चैत्र महिनाको ज्योतिर्विज्ञान मञ्चमा पनि छापिएको थियो ।)