Tuesday, June 16, 2015

अधिकमासको गणितीय एवं बैज्ञानिक पक्ष



–  सुर्दशन पौडेल


अधिकमासको अवधारणा हिन्दु पात्रोमा अद्वितीय रहेको छ । एक सौर वर्षमा १२ वटा चान्द्रमास हुन्छन्, तर यसवर्ष (२०७२) को पात्रोमा १३ वटा चान्द्रमास रहेका छन् । जस मध्ये आषाढ १ गतेदेखि आषाढ ३१ गतेसम्मको दुई पक्ष अधिक आषाढ (चान्द्रमास) हो । पात्रोमा साधारण चान्द्रमासभन्दा बढी भएको यस महिनालाई अधिकमास, मलमास अथवा पुरुषोत्तम मास भन्ने गरिन्छ ।

अधिकमासको अवधारणाले नै हाम्रा चाडपर्वहरु ऋतुसंग बाधिएका हुन् । ख्रिश्चियनहरुको पात्रो सौर महिनामा आधारित छ । इस्लामहरु चान्द्र महिना अनुसार चाडपर्व निर्धारण गर्दछन् । हामी पनि चान्द्रमासका आधारमा चाडपर्व मनाउछौं । इस्लामहरुको इद प्रत्येक वर्ष ११ दिनले चाँडो आउछ र बर्ष भरि घुमि रहन्छ । हाम्रो दशैपनि प्रत्येक वर्ष ११ दिनले छिटो हुन्छ, तर वर्ष भरि घुम्दैन,  शरद् ऋतुमा मात्र दशै आँउछ,  लगभग प्रत्येक ३ बर्षमा आउने अधिकमासले गर्दा हाम्रा चाडपर्वहरुलाई सम्बन्धित ऋतुसँग जोडि राख्छ ।  सौरऋतुलाई चान्द्रमासका आधारमा मनाइने चाडपर्वसँग जोडिराख्ने काम अधिकमासले गर्दछ । अधिकमासले सौर र चान्द्रमासको समन्वय गर्ने काम गर्दछ । यो नै हिन्दु पात्रोको अद्वितीय एवं बैज्ञानिक पक्ष हो ।


                      औशी (बजे)     संक्रान्ति (बजे)
बैशाख   १                      १५:४५ बैशाख संक्रान्ति
बैशाख   ५      २४:५०                 
ज्येष्ठ    १                       १४:११ ज्येष्ठ संक्रान्ति
ज्येष्ठ    ४       ०९:४७                 
ज्येष्ठ   ३२                  २४:१६ आषाढ संक्रान्ति
आषाढ  १       १९:२३
आषाढ  ३१     ०६:२२
श्रावण  १                   १५:५५ श्रावण संक्रान्ति

यसवर्ष आषाढ महिना (आषाढ र श्रावण संक्रान्तिको बिच)  मा दुईपटक औंशीको समाप्तिकाल (प्रतिपदा आरम्भ)  परेकोले चान्द्रमहिनाका हिसाबले दुईवटा आषाढ परेको हो । अधिक चान्द्रमासको नाम पनि त्यही सौरमास अनुसार राखिन्छ ।

पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई आ–आफ्नो भ्रमणपथमा परिक्रमा गरिरहेका छन् । पृथ्वीले सूर्यलाई एक फन्को लगाउन ३६५=२५६४ दिन लगाउँछ । त्यस्तै चान्द्रमासको अवधि (एक औंशीको समाप्ति बाट अर्को औंशीको समाप्तिकालको अवधि) २९=५३०६  (२९ दिन १२ घण्टा ४४ मिनेट ३८.४ सेकेन्ड ) दिनको हुन्छ । तसर्थ एक चान्द्रबर्षमा २९.५३०६ X १२ = ३५४.३६७२ दिन हुन्छ  । अतः एक चान्द्रबर्ष र सौरवर्षको फरक १०.८९९२ ( ११) दिनको हुन्छ । त्यसकारण प्रत्येक वर्ष चान्द्र महिना ११ दिनले छिटो हुन्छ । ३ वर्षमा उक्त फरक ३३ दिनको हुन्छ, जुन १ महिनाभन्दा लामो अवधि हो । यहि अवधिलाई अधिकमास भनिन्छ ।

वशिष्ठ संहितामा उल्लेख भए अनुसार अधिकमास प्रत्येक ३२ महिना १६ दिन ८ घडी पछि आउँछ । सामान्यतयाः अधिकमास २ वर्ष ४ महिना, २ बर्ष ९ महिना, २ वर्ष १० महिना र २ वर्ष ११ महिना पछि परेको देखिन्छ । जसको औसात २ वर्ष ८.५ महिना (३२ महिना) हो । चान्द्र महिनाको अवधिलाई १०.९ (सौर र चान्द्र वर्षको फरक दिन) ले भाग गरेर हेर्दा पनि २९.५÷१०.९ = २ वर्ष ८.५ महिना नै आउँछ ।
सामान्यतयाः एक चान्द्रमासमा एक सौर्य संक्रान्ति पर्दछ । तर, अधिक मासको समयमा चान्द्रमासले सौर संक्रान्ति भेट्दैन । त्यसैगरी कुनै चान्द्रमासमा दुई सौर संक्रान्ति परेमा यस्तो अवस्थालाई क्षय मास भनिन्छ । क्षय मास सौरमासको अवधि कम हुने महिनाहरू मंसिर, पौष र माघ  महिनामा मात्र संभव छ । सामान्यतयाः क्षयमास १९ र १४१ वर्ष पछि आउँछ, तर कहिले काहीँ ६५, ७६ र १२२ वर्ष पछि पनि क्षयमास परेको देखिन्छ । क्षयमास परेको वर्ष निश्चितरुपमा एउटा क्षयमास अघि र अर्को क्षयमास पछि गरेर दुईवटा अधिकमास पर्दछ ।