Tuesday, May 9, 2017

झापाकी शताक्षीदेवी (शतासी धाम)



भूयश्चः शतवार्षिक्यामनावृष्ट्यामनम्भसि ।
मुनिभिः संस्तुता भूमौ सम्भविष्याम्यायोनिजा ।।
ततः शतेन नेत्राणां निरीक्षिष्यामी यन्मुनीन् ।
किर्तयिष्यन्ति मनुजाः शताक्षीमिति मां ततः ।।

–  मार्कण्डेय पुराण

हामीहरू तीर्थ गर्न विदेशतिर जान्छौँ। विदेशमा तीर्थ जानुभन्दा पहिले आफ्नै देशका पौराणिक मान्यता प्राप्त तीर्थहरूमा दर्शनार्थ जानु नै हाम्रो परम् कर्तव्य हो । हाम्रो देशका अनेकौं स्थानमा रहेका तीर्थस्थल तथा ऐतिहासिक स्थलका प्राचीन नामहरू पनि अपभ्रंश भएकाले ती स्थानहरूको जनसाधारणमा जानकारी हुन सकेको छैन । प्राचीनकालका इतिहासहरू अनुसन्धान एवं खोजद्वारा सर्वसाधारणलाई जानकारी गराउनु आवश्यक हुन्छ ।

नाम अपभ्रंश (शताक्षीबाट सतासीधाम)  भएर जति मान्यता पाउनु पर्दथ्यो त्यति नपाएको सिद्धतीर्थ पीठ शताक्षीधाम झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा पर्ने एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । पूर्व–पश्चिम राजमार्गको झिलझिले बजारबाट करिब ५ कि. मी= उत्तर चुरे पर्वतको फेदीमा रहेको इलाम जिल्लासँग सिमाना जोडिएको स्थानमा भित्ते चित्रहरुले सिङ्गारिएका प्राकृतिक सौन्दर्यले मुग्ध पार्ने तीर्थस्थल सतासीधाम भनेर केही व्यक्तिले मात्र जान्दछन् । यहाँ रहेका प्राकृतिक मूर्तिका स्वरुपहरु, पहाडका भित्ता, प्राकृतिक रुपमा रहेका गाईका थुन आकारका प्रतीकहरुबाट निस्कने दुधिलो पानी, सतासी खोलाको एउटा स्थानबाट निस्कने गन्धक –पानी, फेदीमा रहेका अन्य मूर्तिहरु कारणले पनि यो स्थान धार्मिक र प्राकृतिक दृष्टिले रोमाञ्चकारी रहेको छ ।

सतासीधाम देवी भागवतमा वर्णित शताक्षी देवीको उत्पत्ति स्थल हो । यसमा दुईमत छैन ।  यो तीर्थस्थलको महात्म्य कामक्षा आदि शक्तिपीठको जत्तिकै छ । तर, यस स्थलको प्रचार–प्रसार र बाटो आदिको व्यवस्था पूर्णरुपमा राम्रो नभएकोले प्रायः उपेक्षित रहेको छ ।

देवी भागवतस्कन्ध ७ अध्याय २८/२९ अनुसार प्राचीनकालमा देवीद्वारा महिषासुर र शुम्भ निशुम्भको बध पश्चात् दुर्गमासुर नामको दानव उत्पन्न भयो । उसले ब्रम्हाको तपस्या ग¥यो । तपस्याबाट ब्रम्हा सन्तुष्ट भएर वर माग्न आग्रह गर्नुभयो । दुर्गमासुरले ब्राम्हण र देवताको बल भनेको वेद हो । वेद कब्जामा राख्न सके विश्व विजय हुन्छ भनेर ब्रम्हासँग वेद दिनुहोस् भनेर वर माग्यो । ब्रम्हाले दुर्गमासुरलाई वेद दिनु भयो । दानवले वेद पाउने वित्तिकै देवता र ब्राम्हणहरूले वेदका ऋचाहरू भुले । ब्राम्हणहरूबाट वेद विस्मृत भएपछि देवतालाई हवनद्वारा हवि प्राप्त हुन छाड्यो । यज्ञ हुन छाडेपछि पृथ्वीमा वर्षा भएन र धेरै वर्षसम्म अनिकाल प¥यो । दानवले इन्द्रलोक लगायत विश्वमा दिग्विजय ग¥यो । यसरी दयनीय अवस्थामा पुगेका देवता र ब्राम्हणहरूले भगवती जगदम्बाको आराधना गर्न थाले ।

भगवती जगदम्बा शरीरमा एक सय आँखा लिएर प्रादुर्भाव हुनुभयो र देव ब्राम्हणलगायत पृथ्वीका जीवजन्तुको दयनीय स्थिति देखेर भगवतीले आफ्ना सय आँखाबाट जलको वर्षा गराउनुभयो । बर्षाबाट पृथ्वीका जीव जन्तुलाई अन्न एवं औषधिको व्यवस्था भयो । त्यही समयमा ब्राम्हणहरूले सय आँखा भएकी देवीलाई शताक्षी भनेर पूजा अर्चना गरे । शताक्षी रुप लिएर जल वर्षा गरेको स्थान नै वर्तमान झापा जिल्लामा अवस्थित शतासीधाम हो ।

जलको वर्षाबाट अन्नको रक्षा भएपछि भगवती शताक्षी देवीले देव ब्राम्हणहरूलाई वर्तमान भारतमा रहेको सहरानपुरदेखि ४० कि.मि= पर साकम्भरी पीठका नामले प्रसिद्ध रहेको स्थानमा लगेर साग र फलहरू सहित भोजन गराउनु भयो । भोजनबाट देव ब्राम्हणहरुको आत्म सन्तुष्टि भयो । त्यसपछि उनीहरुलाई दुर्गमासुरको अत्याचारबाट मुक्त पार्न त्यसको बध गर्नुभयो । दुर्गमासुरलाई बध गरेका स्थान साकम्भरी पीठभन्दा केही पर देव बन्ध दुर्गा पीठको नामले प्रसिद्ध छ । उक्त स्थानमा १८ विगाहको पोखरी रहेको र श्रीदेवी कुण्ड संस्कृत विद्यालयसमेत स्थापित छ ।

पाण्डवहरूले वनबासको अन्तिम समयमा एक वर्ष गुप्तबास बस्नु पर्ने भएको र सो कार्य सफल होस् भनेर यस स्थानमा उनीहरूले सत्ताक्षी देवीको आराधना गरी हतियारसमेत यहि लुकाएको जनविश्वास रहेको छ ।

देवी भागवत र मार्कण्डेय पुराणमा भगवती जगदम्बाले भन्नु भएको छ – मेरो पवित्र तीन पीठ शताक्षी, साकम्भरी, दुर्गा पीठ स्थान अत्यन्त प्रिय छन् । जसले यी नामको पाठ, जप र उक्त पीठको दर्शन गर्दछ । उनीहरूलाई म संकटमुक्त पार्दछु । त्यसर्थ हामीहरू पनि सकेमा तीन पीठको नसकेमा हाम्रो आफ्नै देशभित्र रहेको झापा जिल्लामा पर्ने शताक्षी धामको दर्शन गरौं ।

स्मरण रहेस्, यी तीनै पीठमा वर्ष वर्षमा मेला लाग्दछ । साकम्भरी पीठमा आश्विन शुक्ल चतुर्दशी, दुर्गा पीठमा चैत्र शुक्ल चतुर्दशी र शताक्षी धाममा मार्ग कृष्ण चतुर्दशीमा मेला लाग्दछ ।
 
देशभित्र लुप्त अवस्थामा रहेका यस्ता धार्मिक स्थलहरुको धार्मिक तथा पर्यटन विकासका लागि राज्य र स्थानीय क्षेत्रबाट संरक्षण र सम्बद्र्धन गर्दै सार्वजनिक गराउने कार्य हुनु आवश्यक छ ।

 ( आकाश–दर्शन पञ्चाङ्ग, २०७४ बाट )